काठमाण्डौँ:
विगतको कम्युनिस्ट एकता असफलताको जिम्मेवारी स्वीकार गरेर खुला समीक्षा गरिनुपर्छ!
नेपालको कम्युनिस्ट आन्दोलन फेरि एकपटक एकताको बहसको केन्द्रमा आएको छ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच पार्टी एकताको सम्भावित समाचारले कम्युनिस्ट एकता चाहने लाखौं कार्यकर्ता, समर्थक र आम नागरिकमा नयाँ आशा जगाएको छ। पछिल्ला दिनमा एकता सम्बन्धी चर्चाहरू राजनीतिक वृत्तमा पुन तीव्र भएका छन्।
तर, एकताको समाचारले मात्र उत्साह पैदा गर्नु पर्याप्त हुँदैन यसले विगतको अनुभवलाई गम्भीर रूपमा स्मरण गराउँछ। नेपालमा कम्युनिस्ट शक्तिहरूको इतिहास एकता र विभाजनको चक्रबाट गुज्रिएको छ।
पटक पटक बनेका गठबन्धन र पार्टी एकताहरू अन्तत व्यक्तिकेन्द्रित स्वार्थ, शक्ति संघर्ष र नेतृत्वबीचको अविश्वासका कारण कमजोर बनेका छन्। यही कारणले आजको सम्भावित एकतालाई केवल राजनीतिक समीकरणको रूपमा होइन, राष्ट्रिय आवश्यकता र जनविश्वासको प्रश्नका रूपमा हेर्नुपर्छ।
विगतको जस्तो सत्ता बाँडफाँटमा सीमित एकता अब स्वीकार्य हुन सक्दैन। जनताले एकता नाममा केवल सरकार निर्माण, पद बाँडफाँट र व्यक्तिगत महत्वाकांक्षाको खेल हेर्न चाहेका छैनन्। देश अहिले आर्थिक संकट, बेरोजगारी, युवा पलायन, सामाजिक असमानता र राजनीतिक अस्थिरताको दबाबमा छ। यस्तो अवस्थामा कम्युनिस्ट शक्तिहरूको एकता यदि साँच्चै जनताको जीवनस्तर सुधार, सुशासन र राष्ट्रिय विकासको स्पष्ट कार्यक्रमसहित आउँछ भने मात्र त्यसले अर्थ राख्छ।
अबको एकताको आधार विचार, नीति र कार्यदिशा हुनुपर्छ, व्यक्तिको सुविधा होइन। जनताको भरोसा गुमेको राजनीति पुन विश्वासयोग्य बन्नु छ भने शीर्ष नेतृत्वले विगतका कमजोरीको इमानदार समीक्षा गर्नुपर्छ।
एकता किन टुट्यो? जनअपेक्षा किन पूरा भएन?संगठन किन कमजोर बन्यो? यस्ता प्रश्नको स्पष्ट उत्तर बिना नयाँ एकता फेरि अस्थायी बन्न सक्छ।
अबको एकताका लागि आवश्यक सुझाव
१-आत्मसमीक्षा अनिवार्य हो।
विगतको असफलताको जिम्मेवारी स्वीकार गरेर खुला समीक्षा गरिनुपर्छ।
२-जनमुखी साझा कार्यक्रम ल्याइनुपर्छ।
रोजगारी, कृषि, उद्योग, शिक्षा, स्वास्थ्य र उत्पादनलाई केन्द्रमा राखेर साझा राष्ट्रिय कार्यक्रम प्रस्तुत गरिनुपर्छ।
३- व्यक्तिकेन्द्रित राजनीति अन्त्य हुनुपर्छ।
पार्टीको भविष्य व्यक्ति विशेषको स्वार्थभन्दा माथि उठ्नुपर्छ।
४- तल्लो तहका कार्यकर्ताको आवाज समेटिनुपर्छ।
एकता केवल शीर्ष तहको सम्झौता होइन, संगठन र जनस्तरको भावना पनि हो।
कम्युनिस्ट आन्दोलनको मूल शक्ति जनता हुन्। त्यसैले जनता र राष्ट्रको स्वार्थमा आधारित एकता मात्र दिगो र प्रभावकारी हुन्छ। यदि अबको एकता सत्ताको गणितभन्दा माथि उठेर देश निर्माणको प्रतिबद्धतासहित अगाडि बढ्छ भने यसले नेपाली राजनीतिमा नयाँ अध्याय सुरु गर्न सक्छ। अन्यथा इतिहास फेरि दोहोरिने जोखिम रहन्छ।
(लेखक शिव रसाईली, रुकुम पश्चिम भाग नेपाली कम्युनिष्ट पार्टिका युवा नेता हुनुहुन्छ)
