सुर्खेत:
भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्साल ले निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदार तथा जिम्मेवार निकायप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्।
नागढुंगा–मुग्लिङ सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा मन्त्री लम्सालले आयोजनामा देखिएको ढिलाइप्रति आक्रोश व्यक्त गर्दै काममा लापरवाही गर्ने ठेकेदारलाई खोजेर काममा लगाउन सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका हुन्।
अनुगमनका क्रममा सडक विस्तार तथा निर्माण कार्यमा अवरोध बनेका बिजुलीका पोल स्थानान्तरणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै मन्त्री लम्सालले कडा शैलीमा निर्देशन दिएका थिए। उनले आयोजना प्रभावित क्षेत्रमा स्थानीय नागरिकले धुलो, हिलो तथा यातायात असुविधाका कारण सास्ती खेपिरहेको उल्लेख गर्दै विकास निर्माणका कामलाई तीव्रता दिनुपर्ने बताए।
“जनताले दैनिक दुःख पाइरहेका छन्, आयोजना समयमा सम्पन्न नहुँदा सरकारमाथि नै प्रश्न उठ्ने अवस्था सिर्जना भएको छ,” मन्त्री लम्सालले भनेका छन्। उनले जिम्मेवारी लिएका निकाय र निर्माण व्यवसायीलाई तोकिएको समयसीमाभित्र काम सम्पन्न गर्न निर्देशन दिएका छन्।
मन्त्रीको अनुगमनका क्रममा व्यक्त गरिएको “काम गर्दैन भने खुट्टा भाँच्दिनू” भन्ने अभिव्यक्ति सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा व्यापक चर्चाको विषय बनेको छ। कतिपयले विकास निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारमाथि कडा कारबाही आवश्यक रहेको प्रतिक्रिया दिएका छन् भने केहीले सार्वजनिक पदमा रहेका व्यक्तिले संयमित भाषा प्रयोग गर्नुपर्ने धारणा राखेका छन्।
नागढुंगा–मुग्लिङ सडक खण्ड देशकै व्यस्त राजमार्गमध्ये एक मानिन्छ। सडक स्तरोन्नति र विस्तारको काममा पटक–पटक ढिलाइ हुँदा यात्रु, व्यवसायी तथा स्थानीयवासीले सास्ती भोग्दै आएका छन्।
मन्त्री लम्सालले आयोजना निर्माणमा देखिएका समस्या तत्काल समाधान गरी कामको गति बढाउन सम्बन्धित निकाय, निर्माण व्यवसायी र सरोकारवालाबीच आवश्यक समन्वय गर्न निर्देशन दिएका छन्। उनले विकास निर्माणमा हुने अनावश्यक ढिलाइ अब स्वीकार्य नहुने समेत स्पष्ट पारेका छन्।


