गैरआवासीय नेपाली (एनआरएन) लाई नागरिकता दिने विषय संविधानमै उल्लेख गरिएको छ। नागरिकता पाउनु हाम्रो (गैरआवासीय नेपालीको) अधिकार हो। त्यस अनुरूप गैरआवासीय नेपाली नागरिकता दिन सुरू भएको पनि हो। अहिलेसम्म १० हजारभन्दा धेरैले यस्तो नागरिकता पाएका छन्। नागरिकता पाएर पनि यसले जे काम गर्नुपर्ने हो त्यो गर्न सकेको छैन। नागरिकता सार्थक हुन १२ वटा ऐन एकैचोटि संशोधन गर्नुपर्छ। गृह मन्त्रालयले आउँदो हिउँदे अधिवेशनमा ती ऐन संशोधन गर्ने सहमति भएको कुरा साथीहरूले भन्नुभएको छ। अहिले गैरआवासीय नेपाली नागरिक नागरिकता पाएर पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रवेश गर्न भिसा लगाउनै पर्छ। यो नागरिकता २०६५ सालदेखि सञ्चालनमा आएको गैरआवासीय नेपाली परिचयपत्रभन्दा फरक छैन।...