सुर्खेत: रुकुम(पश्चिम) चौरजहारी नगरपालिका वडा न १२ स्थायी रुपमा बसोबास गर्दै आउनु भएका केशव प्रशाद शर्मा र श्रीमती हिम कुमारी शर्माको सफलताको कथा हो विगत देखि नै आर्थिक अभावले गाँजिएको परिवार पछाडि परेको गाउँको एक साधारण ठाँउमा जन्म भई ४ भाइबहीनी सानै देखी हुर्काउदै पढाउदै गरी सधै जसो दुखका दिन र अभाव मै गुज्रिएका परिवारका लागि आजको दिन विशेष बन्यो।
वर्षौँसम्म संघर्ष गर्दै भारतमा रोजगारी गरेर छोराछोरीको भविष्य उज्ज्वल बनाउने बुवाको सपना अन्ततः साकार भएको छ घरका तीन दाजुभाइ सरकारी सेवामा प्रवेश गरेसँगै परिवारमा खुसी छाएको छ भने यो कथा अरूका लागि प्रेरणाको स्रोत बनेको छ।
सामान्य आर्थिक अवस्था, सीमित स्रोत र अवसरको अभावका बाबजुद पनि बुवाले मेहनतको बाटो रोज्नुभयो परिवारको गुजारा चलाउन भारत पुगेर पसिना बगाउनु भयो, तर मनमा एउटा मात्रै लक्ष्य थियो—छोराछोरीलाई पढाएर सक्षम बनाउने आमा–बुवाको यही त्याग र संघर्षले आज राम्रै फल दिएको छ।
घरका चार सन्तानमध्ये सुरुमा माईला छोरा दिनेश शर्माले परिवारको आशा जगाय उनी १९ वर्षको उमेरमै संघीय सरकारको सुब्बा पदमा नाम निकाल्न सफल भए कम उमेरमै सरकारी सेवामा प्रवेशले परिवारमा आत्मविश्वास थपियो र अरू दाजुभाइका लागि पनि प्रेरणा बन्यो।
त्यसपछि जेठा छोरा भिमलाल शर्माले २२ वर्षको उमेरमा गण्डकी प्रदेशबाट अहेब पदमा सिफारिस भई सरकारी सेवामा प्रवेश गरे दोस्रो सफलता आएपछि परिवारको संघर्षले अझ ठूलो अर्थ पायो मेहनत, लगन र निरन्तर प्रयासले बाटो खोल्ने उदाहरण बने।
यसै क्रममा कान्छा छोरा सुकराज शर्माले पनि दाजुभाइको पदचिन्ह पछ्याउँदै बागमती प्रदेशको लेखा सहायक पाँचौँ तहमा १९ वर्षकै उमेरमा नाम निकाल्दै सरकारी सेवामा प्रवेश गर्न सफल भए तीनै दाजुभाइको लगातार सफलताले परिवार मात्र होइन, गाउँ समाज नै गर्वित बनेको छ।
परिवारकी एक मात्र छोरी भने कृषि क्षेत्रमा सक्रिय छिन्। स्थानीय वडामै बसेर आधुनिक कृषि अभ्यास गर्दै अब्बल काम गरिरहेकी छिन्। उनले उत्पादन र आत्मनिर्भरतातर्फ प्रेरित गर्दै परिवारको अर्को उदाहरण प्रस्तुत गरिरहेकी छन्।
आमा–बुवाले गरेको दुःख, त्याग, संघर्ष र लगानीले आज सफलता प्राप्त गरेको यो कथा केवल एक परिवारको मात्र होइन, समाजका हजारौँ संघर्षरत परिवारको प्रतिनिधित्व पनि हो अभावले रोक्दैन, इच्छाशक्ति र मेहनतले बाटो बनाउँछ भन्ने सन्देश यसले दिन्छ।
आज यो परिवारको खुसी केवल व्यक्तिगत उपलब्धि भयता पनि, कठिन परिस्थितिमा पनि सपनालाई जोगाएर राख्न सकिन्छ भन्ने जिवन्त प्रमाण बनेको छ आमा बुवाको आँखा रसाउने गरी साकार भएको यो सपना, समाजका अन्य अभिभावक र युवाहरूका लागि प्रेरणादायी कथा बनेको छ।



