भोजन गृह : लोकभाकासँगै मौलिक खानाको स्वाद 

काठमाडौं । साँझ ढल्किंदै जाँदा मादल र हारमोनियमको पार्श्व धुनसँगै मारुनी भाका गुञ्जिन्छ । डिल्लीबजार हाइटस्थित एक राणाकालीन भवनको कुनै कक्ष संगीतमय हुँदैछ । प्रवेशद्वारबाट अगाडि बढ्दै जाँदा यस्तो लाग्छ, हामी प्राचीन युगमा छौं । र, एउटा राजसी शैलीको संरचनाले हामीलाई न्यानो आतिथ्य दिइरहेका छन् ।

त्यहाँ एउटा बैठक कोठा जस्तो छ, जसको भित्तामा जंगबहादुर राणाको पूर्ण कदको चित्र छ । ढोका आसपासमा फलामे सन्दुक । फराकिलो काठे भर्‍याङबाट एक तला उक्लिएपछि भेटिन्छ, भोजनालय ।

त्यहाँ स्वदेशी-विदेशी आगन्तुकहरुले कुर्सी भरिएका छन् । उनीहरुको अघिल्तिर बाद्यवादक छन्, नर्तक छन् । नेपाली लोकलयमा नाचगान भइरहेको छ । १५० वर्ष पुरानो भवनमा बसेर मौलिक नाचगान हेर्दै र सुन्दै रैथाने स्वाद लिनुको फरक आनन्द छ । त्यसमाथि क्यान्डिलको लाइटमा ।

धीमा प्रकाशमा हाम्रो टेबल अनेक व्यञ्जनले भरिन थाल्छ । सुरुमा मकै भटमास । त्यसपछि तारेको आलु, मःम, क्वाँटीको झोल । यी मौलिक परिकारले मुखको स्वाद फेरिरहँदा अय्लाको प्याला भरिन्छ । अय्ला अर्थात् परम्परागत नेवारी रक्सी ।

अब पालो पूर्ण थालीको । भात, तीनथरी मौसमी तरकारी, खसीको झोलमासु, कुखुरा तारेको मासु, झानेको दाल, साग र अचार । यतिले पेट भरेपछि गुलियो दही र अन्त्यमा इलामको चिया । यहाँका अधिकांश परिकार त्यसरी नै तयार गरिन्छ, जुन परम्परागत भान्सामा पाक्ने गर्छ । त्यसैले खसीको झोल खानुहोस् वा झानेको दाल, मौलिक स्वाद भेट्नुहुनेछ ।

भोजन गृहमा तपाईं पारिवारिक जमघट गर्न सक्नुहुनेछ वा कुनै पारिवारिक समारोह आयोजना गर्न सक्नुहुनेछ । साथीभाइसँग भलाकुसारी गर्दै बस्न सक्नुहुनेछ । वा आफन्त, इष्टमित्र, साथीभाइका लागि विशेष समय व्यतीत गर्न सक्नुहुनेछ । भोजन गृहले तपाईंलाई हार्दिक आतिथ्य दिनेछ । यहाँ एकसाथ २०० जनाले खान, बस्न सक्छन् । यहाँको साजसज्जा, रंग र प्रकाशले तपाईंलाई फरक महसुस गराउन सक्छ ।

यो यस्तो रेस्टुरेन्ट हो, जहाँ विशुद्ध नेपाली खाना मात्र पाइन्छ । खासगरी साँझको खानाका लागि यहाँको माहोल विशेष लाग्न सक्छ । किनभने साँझ ७ बजेपछि भोजन गृहमा लोक परम्परा झल्किने गीत प्रस्तुत गरिन्छ ।

कसरी सुरु भयो भोजन गृह ?

भोजनगृहका सञ्चालक हुन्, भरत बस्नेत । खासमा उनी लामो समयदेखि ट्राभल व्यवसायमा आबद्ध थिए । यद्यपि होटल, रेस्टुरेन्ट सञ्चालन गर्नेबारे खास योजना थिएन ।

सन् १९९७ मा सरकारले नेपाललाई पर्यटन वर्षको रुपमा मनाउने निधो गर्‍यो । यसका लागि केही तयारी गर्नुपर्ने भयो । जस्तो कि, प्राचीन सम्पदाहरु यथावत् राख्ने, प्रदूषण न्यूनीकरण गर्ने । सोही क्रममा भरतले हाल भोजनगृह रहेको घर फेला पारे । १०० वर्ष पुरानो यो संरचना आफैंमा एउटा संग्रहालय जस्तो थियो ।

त्यसबेला त्यस घरमा गार्मेन्ट फ्याक्ट्री सञ्चालनमा थियो । पछि मान्छेहरु बस्न नसकेपछि घर खाली भयो र भत्काउने सुरसार गरियो । ठीक यही बेला बस्नेतले यो पुरानो संरचनालाई सग्लो राख्नुपर्छ भन्नेमा जोड दिए । अन्ततः उनैले २० वर्षका लागि घर भाडामा लिए ।

अब यस घरलाई कसरी चलायमान बनाउने ?

बस्नेत खानाका पारखी । पहिले पहिले नेपाली खाना पाइने रेस्टुरेन्ट धाउने गर्थे । त्यसबेला होटल याक एण्ड यतीको एउटा भवनमा मौलिक खानपान गर्न पाइन्थ्यो । त्यसको मूल आकर्षण भनेको सांस्कृतिक नाचगान पनि थियो ।

त्यस्तै कमलादीमा भान्साघर भन्ने रेस्टुरेन्ट थियो, जहाँको मौलिक नेपाली खाना पाइन्थ्यो । खाना मीठो भएपनि त्यहाँ बस्ने ठाउँ विदेशी शैलीको थियो । त्यसअघि दरबारमार्गमा सुनकोसी नामक रेस्टुरेन्ट थियो, विशुद्ध नेपाली खाना पाइने ।

बस्नेतलाई लागेको थियो, लोकगीत र नाचसँगै नेपाली स्वादको खाना पाइने ठाउँ भए कस्तो गजब हुन्थ्यो ?

आखिरमा त्यही पुरानो घरलाई भोजनगृहमा रुपान्तरण गर्ने योजना बनाए, जुन उनले कल्पेका थिए । उनले भवनलाई जस्ताको तस्तै राखेर भित्री साजसज्जामा सामान्य परिवर्तन गरे । र, २०५७ सालदेखि नेपाली मौलिक थाली पस्किने भोजनालय सुरु गरे । कोरोना महाव्याधिको बेला बन्द भएको यो भोजनालय पुनः सञ्चालनमा छ । प्राचीन शैलीको भवन, तिक्खर नेपाली स्वादको भोजन, खानपानसँगै सांस्कृतिक नाचगानले यहाँ आगन्तुकलाई लोभ्याउँछ । पर्याप्त पार्किङको व्यवस्थासहितको यो भोजनगृह डिल्लीबजार हाइटमा अवस्थित छ ।

तस्वीर, भिडियो : विकास श्रेष्ठ/अनलाइनखबर

सम्बन्धित
भोटो : नेपाली उत्पादनलाई प्रोत्साहित गर्न तीन साथी मिलेर गरेको उद्यम

काठमाडौं । नेपाली बजारमा अन्तर्राष्ट्रिय ब्रान्डप्रतिको आकर्षण बढ्दै गइरहेको छ । यस्तोमा नेपाली ब्रान्डलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने दौडमा छिन् पूजा

अनलाइन जालबाट बच्चालाई कसरी जोगाउने ?

आजभोलिका बालबालिका कम उमेरमै इन्टरनेट प्रयोगकर्ता बनिरहेका छन् । संयुक्त राष्ट्र संघका अनुसार विश्वमा हरेक आधा सेकेन्डमा एक बच्चा अनलाइनमा

कोहलीसँगको सम्बन्धको विषयमा के भन्छन् भारतका नवनियुक्त प्रशिक्षक गम्भीर?

भारतीय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक गौतम गम्भीरले सोमबार आयोजित पत्रकार सम्मेलनमा टोलीका अनुभवी ब्याटर विराट कोहलीसँग आफ्नो सम्बन्धको बारेमा बोलेका