२४ पुस, काठमाडौं । नेपाली कांग्रेसबाट सरकारको नेतृत्व गरेका उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई अहिले भ्याइनभ्याइ छ । उनको भ्याईनभ्याई मन्त्रालयको कार्ययोजना कार्यान्वयनका लागि राजनीतिक कार्यक्रमदेखि मेला/महोत्सव उद्घाटन र समापनमा भइरहेको छ । तर मन्त्रालयको प्रगति भने सुस्त छ ।
चालु आर्थिक वर्ष २०८१/८२ का लागि विकासे मन्त्रालयतर्फ दोस्रो ठूलो बजेट पाएको सहरी विकास मन्त्रालयको बजेट कार्यान्वयन भने कमजोर छ । भौतिक पूर्वाधारपछि ठूलो बजेट ९१ अर्ब ३५ करोड २३ लाख रहेको मन्त्रालयले कार्यान्वयन कमजोर गरेको हो ।
मन्त्रालयका अनुसार १९ पुससम्म कुल बजेटबाट ६ अर्ब ३५ करोड ६२ लाख ८२ हजार रुपैयाँ मात्रै खर्च भएको छ ।
बजेटमा आएका २ हजार बढी कार्यक्रमको छैन सुरसार
मन्त्रालयले बजेट मार्फत चालु आर्थिक वर्षका लागि तीन हजार ७१६ नयाँ कार्यक्रममध्ये जम्मा एक हजार ६२३ को मात्रै बोलपत्र आह्वान भएका छन् । बोलपत्र आह्वान भएका एक हजार ६२३ कार्यक्रममध्ये ८ सय ७० को ठेक्का सम्झौता भईबि ३० कार्यक्रम निर्माण कार्य सम्पन्न भएको छ ।
तर, बजेटमार्फत आएका बाँकी दुई हजार ९३ कार्यक्रमको अहिलेसम्म बोलपत्र आह्वान हुन सकेको छैन ।
बोलपत्र आह्वान नभएका दुई सय ८८ कार्यक्रम बहुवर्षीय स्वीकृतिका लागि प्रस्तावित छन् भने ८० वटा संशोधनका लागि प्रस्तावित कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले एक हजार ४ सय ५९ पुराना कार्यक्रममध्ये चालु आवमा जम्मा दुई सय ८० कार्यक्रम सकेको छ ।


