बझाङको बादी समुदाय पाँच महिनादेखि बिजुली र पानीबाट बञ्चित

कैलाली । बझाङ सदरमुकाम चैनपुरकी किट्टी बादीले विद्युत महसुलबापतको ९८० रुपैयाँ तिर्न सकिनन् । उक्त शुल्क नतिरेपछि विद्युत लाइन काटिएपछि उनी पाँच महिनादेखि अन्धकारमा बस्न बाध्य छिन् ।

किट्टी जस्ता यहाँका सात घरपरिवारले बक्यौता नबुझाउँदा पाँच महिनादेखि घरमा बिजुली बत्ती बाल्न पाएका छैनन् । यो बस्तीकी मीरा बादीको सबैभन्दा धेरै ७ हजार ६४० रुपैयाँ बक्यौता रहेको छ ।

बक्यौता नतिरेपछि उनीहरुले प्रयोग गर्दै आएको खानेपानीको धारा पनि काटिएको छ । भूकम्पले चर्किएको घरमा बसिरहेका बादी समुदाय पानी र बत्तीसमेत नहुँदा थप समस्यामा परेको छ ।

खानेपानीको धारा काटिएपछि सेती नदीबाट पानी ल्याइरहेको हरिना बादी बताउँछिन् । ‘थोरै रकम तिर्न नसक्दा हाम्रो घरको बत्ती र खानेपानी काटियो । हामी अँध्यारोमै छौं, खोलाको पानी खान्छौं’, उनले भनिन् ।

आफ्नो समुदायलाई सरकारले पनि ध्यान नदिएको र जीवन कष्टकर बन्दै गइरहेको राधा बादी बताउँछिन् ।

‘पानी र बत्ती नहुँदा दैनिकी कष्टकर बनेको छ’, उनले भनिन्, ‘बिजुलीको लाइन काटिएपछि अँध्यारोमा बस्न बाध्य छौं ।’

उनका अनुसार प्रति परिवार २ देखि ४ हजारसम्मको बिल पुगेको छ, जुन तिर्न नसकिएका कारण लाइन काटिएको हो ।

नेपाल विद्युत प्राधिकरण बझाङका प्रमुख सुजन खड्काले विद्युत महसुल तिर्न नसकेकाले लाइन काटिएको बताए । तत्काल विद्युत जोड्न कि महसुल बुझाउनुपर्ने वा सरकारले मिनाहा गर्नुपर्ने उनको भनाइ छ ।

‘मन्त्रिपरिषद्को निर्देशन आएपछि मात्र लाइन जोड्न सकिन्छ । अन्यथा महसुल तिरेपछि मात्रै सेवा उपलब्ध गराइन्छ’, उनले भने ।

२०७६ सालदेखि मिटर जोडेको उक्त बस्तीमा केहीले अहिलेसम्म शुल्क नदिएको उनको भनाइ छ ।

स्थानीयले खानेपानीको महसुल नतिर्दा पानी पिउन नपाएको बताए पनि खानेपानी उपभोक्ता समितिका अध्यक्ष लोकेन्द्र विष्टले पानी खेर फाल्ने गरेकाले पानीको लाइन काटिएको बताउँछन् ।

‘महसुल नतिरेकोभन्दा पनि व्यवस्थापन नगरेकाले काटिएको हो । पानी व्यवस्थापन गरी उपभोग गर्न सहमत भए लाइन पुनः जोडिन्छ’, उनले भने ।

बझाङ सदरमुकामभित्रैका अन्य टोलहरूमा झिलिमिली बत्ती बल्दा बादी बस्ती भने अन्धकारमा रात काट्न बाध्य छ । पानी र बत्तीविना पाँच महिना बिताउँदा पनि राज्यले आफ्नो समस्यामा चासो नदिएको बादी समुदायको गुनासो छ ।

 

सम्बन्धित
पर्यटकीय सम्भावना बोकेको स्यार्पु ताल सरसफाइमा कसैको ध्यान छैन

सुर्खेत:रुकुम पश्चिमको बाँफीकोट गाउँपालिकामा अवस्थित स्यार्पु ताल, प्राकृतिक सुन्दरता र पर्यटन आकर्षणका दृष्टिले जिल्लाको रत्न मानिन्छ। हरियाली डाँडाको बिचमा अवस्थित

क्रिश्चियन हरूको जवान सम्मेलनबाट फर्किँदै गर्दा जीप दुर्घटना,७जनाको मृत्यु,१० घाइते

रुकुम पश्चिम — रुकुम पश्चिमको त्रिवेणी गाँउपालिकाको सुम्रुतु भन्ने ठाँउबाट आठबिसकोटतर्फ जाँदै गरेको रा. १ ज ४२२ नम्बरको जीप बाफिकोट

सरकारी लगानीमै सुस्ताइ NTC, टावर बने पनि नेटवर्क आएन

रुकुम (पश्चिम): रुकुम पश्चिम, चौरजहारी नगरपालिकाको वडा नं. ११ स्थित नेप्टेकाँडामा नेपाल टेलिकम (NTC) ले निर्माण गरेको मोबाइल टावर लामो

सल्यान कपुरकोटमा फोर्ष गाडि दुर्घटना घटनास्थमै ३ जनाको मृत्यु

सल्यान: सल्यानको कपुरकोट गाउँपालिका ३ चोरखोलामा फोर्स गाडी दुर्घटना भएको छ । रुकुम पश्चिमको बाँफिकोटबाट दाङतर्फ जाँदै गरेको लु २