वीरेन्द्रनगरलाई गिज्याइरहेको सार्वजनिक शौचालय

Oplus_131072

सुर्खेत । नेपाल ‘खुला दिसामुक्त राष्ट्र’ घोषणा भएको ५ वर्ष बितिसक्यो । तर, ठूला शहरमा समेत सार्वजनिक शौचालयको अभाव छ । भएका पनि दुर्गन्धित र जीर्ण छन् । पानीको अभाव छ ।

यस्तै व्यथा छ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको पनि । वीरेन्द्रनगरका प्रमुख सडक र चोकहरू- वीरेन्द्रनगर, मङ्गलगढी, एरिचोक, बाङ्गगेशिमल, एयरपोर्ट र पिपिरा चोकमा सार्वजनिक शौचालय छैन । यी ठाउँमा विद्यार्थी, व्यापारी, पर्यटकलगायत हजारौंको जमघट हुन्छ ।

पिउने पानी, शौचालय, सडक, विद्युतलगायतको सुविधाले कुनै पनि ठाउंँको सभ्यता र विकासको मापन गर्दछ । तर, वीरेन्द्रनगरका फोहोरी शौचालयले उल्टै यो शहरलाई गिज्याइरहेको छ । छेउछाउका विद्यालयका विद्यार्थी साथै सार्वजनिक यातायातका यात्रुले शौचालय अभावमा सास्ती खेपिरहेका छन् । बाध्यताले खुला ठाउँमा दिसा-पिसाब गर्नुपर्ने अवस्था रहेको स्थानीयको गुनासो छ ।

नगरपालिकाले बुलबुले पार्क, काँक्रेबिहार, बसपार्कलगायत ६ स्थानमा सार्वजनिक शौचालय बनाएको त छ । तर, शहरका प्रमुख सडक र चोकबाट टाढा छन् । सरसफाइ र व्यवस्थापनको अभावले भएका पनि प्रयोगविहीन छन् ।

वीरेन्द्रनगर नगरपालिका-३ सुर्खेतका हर्कबहादुर थापा सार्वजनिक शौचालय अभावमा नागरिकले सास्ती खेप्नुपरेको सुनाउँछन् ।

थापा भन्छन्, ‘बाटोमा हिँड्दा समस्या पर्छ । होटलको शौचालय प्रयोग गर्नुपर्छ, नत्र खाली ठाउँ खोज्न बाध्य हुन्छौं । मुख्य चोकबाट सय मिटरभित्र शौचालय उपलब्ध गराउनु धेरै जरुरी छ ।’

Oplus_131072

ठाटिकाध गाउँपालिका-४, दैलेखका छत्रबहादुर कठायतले पनि उस्तै समस्या सुनाए ।

उनले भने, ‘होटल, पसलमा जान खोज्दा पहिले केही सामान किन्न वा खाजा खानुपर्ने भन्छन् ।’

कक्षा १२ मा अध्ययनरत वीरेन्द्रनगर-३, सुर्खेतकी निरुता शर्मा सार्वजनिक शौचालयको अभावमा महिलाहरूले समस्या भोग्नुपरेको बताउँछिन् ।

‘पिरियडको समयमा प्याड फेर्न गार्‍हो हुन्छ । होटेलतिर जानुपर्छ । होटेल मालिकहरूले खाजा खाने भए मात्र ट्वाइलेट प्रयोग गर्न दिने भन्छन् । हामी विद्यार्थीका लागि झन् समस्या छ । पैसा पनि हुँदैन ।’

मङ्गलगढी चोकका सौगात स्वीट हाउसका मालिक मीनबहादुर बिसी आफूकहाँ आउनेलाई शौचालय प्रयोग गर्न दिने भएपनि धेरैजनाले प्रयोग गर्दा फोहोर हुने गरेको बताउँछन् ।

पीपल चौतारीको सार्वजनिक शौचालयकी व्यवस्थापक धनसरी सुनार सेवाग्राहीले तिरेको शुल्कले खर्च नपुग्ने बताउँछिन् ।

उनी भन्छिन्,‘नगरपालिकाले शौचालय चलाउन जिम्मा दिएको छ । सबैलाई पायक पर्ने ठाउँमा छैन । ५० रूपैयाँ जति उठ्छ । ट्वाइलेट सफा गर्ने कि, दिनभरी कुरेको मैले लिने ?’

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल नगर क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा आन्तरिक पर्यटक र स्थानीयलाई समस्या भएको बताउँछन् । निजी क्षेत्रसँग समन्वय गरी व्यवस्थितरूपमा शौचालय बनाउनुपर्नेमा उनले जोड दिए ।

वीरेन्द्रनगर नगरपालिकाका उपमेयर नीलकण्ठ खनालले नगरमा सार्वजनिक शौचालय निर्माण र व्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताएका छन् । तर, केही शौचालय अव्यवस्थित भएको उनले स्वीकारे ।

उनले भने,‘सार्वजनिक शौचालय व्यवस्थित गर्न नयाँ योजना अघि सारेका छौँ । प्रमुख चोक र भिडभाड हुने स्थानमा नयाँ बनाउनेछौं । साथै, अपांगमैत्री र सबैलाई पहुँचयुक्त हुने गरी निर्माण गर्नेछौँ । सार्वजनिक शौचालयको व्यवस्थापन निजी क्षेत्रसँगको सहकार्यमा गर्ने सोचमा छौं । शौचालयहरूको सरसफाइ र सञ्चालनमा जनताको सहज पहुँचका लागि सूचना बोर्ड र संकेत राख्ने व्यवस्था गरिनेछ ।’

घुम्ती शौचालयको व्यवस्था, पुराना शौचालयहरूको मर्मत, र नयाँ शौचालय निर्माणलाई प्राथमिकतामा राखेको खनालले सुनाए ।

सम्बन्धित
सरकारी लगानीमै सुस्ताइ NTC, टावर बने पनि नेटवर्क आएन

रुकुम (पश्चिम): रुकुम पश्चिम, चौरजहारी नगरपालिकाको वडा नं. ११ स्थित नेप्टेकाँडामा नेपाल टेलिकम (NTC) ले निर्माण गरेको मोबाइल टावर लामो

स्ववियु निर्वाचन २५ भन्दा बढी क्याम्पसहरुमा एमाले निकट अनेरास्ववियु अगाडि

काठमाडौं : स्ववियु निर्वाचन यही चैत्र ५ गते देशभर त्रि. वि अन्तरगतका आंगिक तथा सामुदायिक क्याम्पसहरुमा निर्वाचन हुदै छ! स्वतन्त्र विद्यार्थी

स्ववियु निर्वाचनमा रुकुमको शितल क्याम्पसमा दर्ता भएका सबै संगठन विच सर्वसम्मत नेतृत्व चयन

सुर्खेत: रुकुम (पश्चिम) को चौरजहारी नगरपालिका २ मा अवस्थित शितल क्याम्पसमा आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनको लागि त्यस

सडक डिभिजन कार्यालय हेटौँडाले गत आर्थिक वर्षमा मकवानपुर, बारा र पर्सामा १८ किलोमिटर सडक कालोपत्र गरेको छ । सो अवधिमा