सुर्खेत:रुकुम पश्चिमका छ वटा स्थानीय तहको लेखा परीक्षणमा १३ करोड ८९ लाख १४ हजार रुपैयाँ बेरुजु देखिएको छ। तर, ती स्थानीय तहहरूमध्ये चौरजहारी नगरपालिकाले भने सबैभन्दा कम बेरुजु देखाउँदै आर्थिक अनुशासनमा आफ्नो उदाहरणीय उपस्थिति देखाएको छ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष ०८०/८१ मा चौरजहारी नगरपालिकाको जम्मा ०.७८ प्रतिशत बेरुजु मात्र देखिएको हो। लेखा परीक्षण गरिएको १ अर्ब ८८ करोड १३ लाख ७२ हजार रुपैयाँमध्ये १ करोड ४६ लाख १८ हजार रुपैयाँ बेरुजु देखिएको हो।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले हरेक वर्ष सुधारतर्फ अग्रसर रहेको बताउनु भयो।
उहाँका अनुसार “फच्योट गर्नुपर्ने र कागजात पेश गर्न बाँकी केही कारोबारहरू बेरुजुमा परे पनि ती असुल गर्नुपर्ने खालका होइनन्।” उहाँले चौरजहारीले आर्थिक अनुशासन र पारदर्शितामा जोड दिँदै आइरहेको बताउनु भयो। बेरुजु न्यूनीकरण गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने कार्यलाई नगरपालिकाले प्राथमिकता दिएको छ । शाखा प्रमुख र सम्बन्धित कर्मचारीहरूको कार्यसम्पादनको महत्त्वपूर्ण आधार बेरुजुलाई बनाइ पुरस्कार र दण्ड हुने गरी प्रमुख प्रशासकीय अधिकृतले शाखा प्रमुखहरूसँग कार्यसम्पादन करार गरी नियमित समीक्षा समेत गर्ने गरेको जानकारी दिनुभयो!
बेरुजु न्यूनीकरण गर्न सक्रिय रुपमा काम गर्ने सबै शाखा प्रमुख र जिम्मेवार कर्मचारीहरूमा धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।
आगामी दिनमा थप जिम्मेवार भएर कार्यसम्पादन मा उत्कृष्टता सहित शुन्य बेरुजूमा ल्याउने प्रायास हुने विश्वास लिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेर प्रसाद ढकालले पूर्वाधार न्युज लाई जानकारी दिनुभयो ।
अन्य स्थानीय तहहरूको अवस्था हेर्दा, बाँफिकोट गाउँपालिकामा सबैभन्दा धेरै बेरुजु देखिएको छ। यहाँ २ करोड ६८ लाख ८३ हजार रुपैयाँ अर्थात २.३७ प्रतिशत बेरुजु देखिएको छ। त्यसपछि आठबिसकोट नगरपालिकामा ३ करोड ६९ लाख ८३ हजार (१.७२%), मुसिकोट नगरपालिकामा २ करोड ३९ लाख १५ हजार (१.५१%), त्रिवेणी गाउँपालिकामा २ करोड ४ लाख ८७ हजार (१.३२%) र सानीभेरी गाउँपालिकामा १ करोड ६० लाख २८ हजार (०.९०%) बेरुजु देखिएको हो।
महालेखा परीक्षकको प्रतिवेदनले स्थानीय तहमा अझैपनि पारदर्शिता र जवाफदेहिता कायम गर्नुपर्ने देखाएको छ। तथापि, चौरजहारी नगरपालिकाले देखाएको अनुशासनले अन्य स्थानीय तहहरूलाई पनि सिकाइको अवसर प्रदान गरेको छ।



